
काठमाडौं— ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालक मध्ये २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवाल विरुद्ध पक्राउ अनुमति लिएको हो । क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालक विरुद्ध पक्राउ अनुमति लिएको हो ।
घटना गत जेठ ३१ गतेको हो । एलओडी क्लब पुगेकी १६ वर्षीया नाबालिगलाई ५० वर्षीय सुदन कोइरालाले ललितपुरमा आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । कोइरालालाई यसअघि नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कोइराला र ती नाबालिगबीच क्लबमा नै पहिलोपटक भेटघाट भएको थियो ।
नाबालिग साथीसँग एलओडी पुगेकी थिइन् । घर लगिदिने बाहनामा कोइरालाले नाबालिगलाई आफ्नो गाडीमा राखेर ललितपुरको बागडोल लगेका थिए । त्यहाँ जबरजस्ती करणी गर्न खोजेपछि नाबालिग चिच्याइन । त्यसपछि कोइराला भागे । लगत्तै नाबालिगले आफन्तलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् ।
आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेपछि नाबालिगलाई प्रहरीले रेस्क्यू गरेको हो । कोइराला सोही दिन पक्राउ परेका हुन् । उदयपुर घर भएकी ती नाबालिगले हालैमात्र एसईई परीक्षा दिएकी हुन् । उनी घुम्नका लागि काठमाडौं आएको प्रहरी समक्ष बताएकी छन् ।
यद्यपि, उनी कोसँग र कसरी एलओडी पुगिन् भन्ने चाहिँ पीडितले प्रहरी समक्ष खुलाएकी छैनन् ।