News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध

काठमाडौं— प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

दिउँसो १ बजे बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदन अवरुद्ध गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्ने गरी स्थगित भएको छ । 

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:३२
Weather Update