News Griha :: न्यूजगृह
संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : रेखा शर्मा

तनहुँ— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीयताविरुद्व षड्यन्त्र भइरहेको बताएकी छिन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको आज उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले संघीयता खर्चिलो, महंगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद् भएको बताइन् ।

कतिपय बेला सडक, सदन र कतिपय समयमा महत्त्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत हुने गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘संघीयताविरुद्ध आवाज उठाउन हुन्न, संघीयता आवश्यक छैन भन्नु गलत हो ।’

‘हिजोका गाविस कति थिए, पदाधिकारी कति थिए, राज्यले कतिलाई तलब खुवाउनुपर्थ्यो, कति साधनस्रोत खर्च हुन्थ्यो, आजको गाउँपालिका कत्रो छ, पदाधिकारी कति छन्, त्यो बुझ्न आवश्यक छ’, उनले भनिन्, ‘प्रदेश कत्रो छ, त्यसभित्र कार्यपालिका, सरकार संसद्मा नेतृत्व गर्ने व्यक्ति र केन्द्रमा नेतृत्व गर्ने कति छन्, ती सबैको हिसाबकिताब गर्ने हो भने विगतमा भन्दा बढी खर्च हुने देखिँदैन ।’

कुनै समयमा राजनीतिक अस्थिरतका कारण सरकार सानो ठूलो बन्यो होला त्यो एउटा समीक्षाको पाटो हुन सक्ने मन्त्री शर्माको भनाइ छ ।

विगतका कमजोरीलाई लिएर तीन तहको सरकारको विरुद्धमा जाने कुरा बेठिक भएको बताउँदै उनले संविधानले तोकेअनुरुप केन्द्रका लागि २५ मन्त्री, प्रदेशमा २० प्रतिशतभन्दा माथि जान नपाउने भनेर घटाएर सानो बनाएको स्पष्ट पारिन् ।

जनयुद्ध र आन्दोलनकाे जगमा टेकेर संविधानसभा निर्माण भएको उल्लेख गर्दै उनले संविधानसभाबाट संविधान निर्माण गरी तीन तहको सरकार गठन गरेको स्मरण गरिन् ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:४६
Weather Update