
काठमाडौं— उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुन पुगेपछि गृहमन्त्री श्रेष्ठले निराश नहुन पीडितहरूलाई अपिल गरेका हुन् । उनले पीडितहरूबाट उजुरी लिन र छानबिन गर्न गठन गरिएको आयोगले काम जारी राख्ने स्पष्ट पारेका छन् ।
‘आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ । विधेयक संसद्को प्रक्रियामा छ, अघि बढाइनेछ र कानुन बनाइछाडिनेछ,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘तसर्थ पीडितहरूलाई निरास नहुन र सक्रियताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपिल गर्दछु । न्याय र विजय सुनिश्चित छ ।’
पछिल्लो धारणा आउनुअघि पनि उनले सामाजिक सञ्जालमार्फत बुधबार प्रतिनिधि सभामा भएको अवरोधले मर्माहत भएको उल्लेख गरेका थिए ।
‘धेरै समयपछि आज पुनः सामाजिक सञ्जालमा आएको छु,’उनले भनेका थिए,‘आज म धेरै आहात भएको छु । आज प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित हुनुपर्थ्याे । तर गरिएन । आजैदेखि यससम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ ।’