News Griha :: न्यूजगृह
श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

काठमाडौं— श्रीलंका भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

यस्तै अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।

अध्यक्ष नेपाल श्रीलंका कम्युनिस्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०५:४८
Weather Update