News Griha :: न्यूजगृह
सत्तारुढ सांसद राणाले भने–प्रधानमन्त्रीले बोल्नै नहुने अभिव्यक्ति दिनुभयो

काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन् ।

पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा सोमबार दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए  । ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालले भनेका थिए ।

बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्ष दलहरुले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए ।

साेही सन्दर्भमा संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पष्टीकरण दिनुपर्ने माग गरे ।

सांसद राणाले भने,‘हाम्रो यस सन्दर्भमा अफिसियल धारणा छैन । प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेलामा केही कुरा बोल्नु भएको थियो । त्यसको बारेमा उहाँहरुले आपत्ति जनाउनु भयो । सायद भोलि प्रधानमन्त्रीले त्यसको जवाफ दिनुहुन्छ । हाउसलाई हामी अगाडि बढाउँछौं । एमालेले राजीनामा खोज्यो । उहाँले त्यो बोल्न नहुने हो । के सोचमा उहाँले बोल्नुभयो । अथवा के ब्याकराउण्डमा उहाँले त्यो बोल्नुभयो । त्यो चाहीँ स्पष्ट पार्नुपर्छ उहाँले ।’

सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको बताए । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:३५
Weather Update