News Griha :: न्यूजगृह
बागमती प्रदेश सरकारले बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने

मनहरि— बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारूढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरू बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मंगलबार बसेको प्रदेश सभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाएका थिए । 

बैठकले डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । साथै पर्यटन उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना, इकाइ कार्यालय, काठमाडौंको म्याद दुई वर्षका लागि थप्ने निर्णय गरेको छ ।

बैठकले दोलखाको जिरी नगरपालिकामा मानव निर्मित ताल निर्माणका लागि करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्तिका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:१४
Weather Update