News Griha :: न्यूजगृह
बुधबार भारी वर्षा र हावाहुरीको सम्भावना 

काठमाडौं— देशका विभिन्न भू–भागमा बुधबार भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने जनाएको छ । 

भारी वर्षा, मेघगर्जन,चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:१५
Weather Update