News Griha :: न्यूजगृह
कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा

काठमाडौं— मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार अहिले तिनाउ नदीको बहाव खतरा तहमा पुगको छ ।

स्याङ्जा, अर्घाखाँची, रुपन्देही र पाल्पा जिल्ला बाढीका हिसाबले चेतावनी तहमा रहेका छन् । ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

बागलुङ, कास्की, तनहुँ, पाल्पालगायत जिल्लामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन चेतावनी जारी गरिएको विभागले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि कोशी नदीको बहाव बढेको जनाएको छ । सप्तरी, सिरहा, धनुषा जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।

निरन्तरको वर्षाले सेती, कालीगण्डकी नदीको माथिल्लो भेगमा पानीको बहाव बढेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २१:५०
Weather Update