News Griha :: न्यूजगृह
नेसपाले संगठन विस्तारसँगै मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवम् सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकपछि जारी विज्ञप्तिमा सो कार्यका लागि सो पार्टीले यही असारदेखि अभियान सञ्चान गर्ने जनाएको छ ।

आगामी पुस महिनासम्म सञ्चालन गरिने अभियानको विस्तारित खाका सार्वजनिक गर्दै सो पार्टीले संगठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिको बृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहनेसमेत जनाएको छ ।

‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आमजनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकारबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा विस्तार अभियान’ सञ्चालन गर्न लागिएको छ’, सो पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अभियानमार्फत पार्टीलाई वैचारिकरुपमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने नेसपाले जनाएको छ । साथै, सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्ने नेसपाले जनाएको छ ।

अभियानको संयोजन प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्यले गर्ने छन् भने जिल्ला र पालिकाको अभियानको नेतृत्व केन्द्रीय सदस्य, संघीय परिषद् सदस्य वा प्रदेश सदस्यले गर्ने छन् । नेसपाले अभियान्ताहरूले पालना गर्नुपर्ने नियम र आचारसंहिता पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:०८
Weather Update