News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्तिदेखि नाजायज म्यासेज गर्ने प्रहरीलाई कारबाही माग
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् । 

मंगलबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौमसम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको उनको भनाइ छ । 

उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद् समक्ष आएर स्पष्ट पार्न माग गरिन् । 

राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पूर्वी नवलपरासीका पाँच वटा गाँउपालिकामा बाढी, पहिरोका कारण विगत केही दिनदेखि सडक अवरुद्ध भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न माग गरे । त्यस्तै, सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा सिएहरू अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै, राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले कैलालीस्थित शक्ति भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको स्थापना गर्न माग गरे ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरिन् । 

राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले धान रोपाइँ चलिरहेको यो बेलामा किसानले युरिया र डीएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन् । 

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । 

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सप्तरीको बेलीही भन्सारमा क्वारेन्टाइन चेकपोस्ट राख्न माग गरे । 

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले जुम्लामा अन्तरजातीय विवाह गरे बापत मुकुन्द नेपालीको घरमा आगजनी भएको भन्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । 

उनले पोखरामा महिला प्रहरीमाथि नाजायज म्यासेज पठाएर हिंसा गर्ने प्रहरीलाई पनि कारबाही गर्न माग गरिन् । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १४:३३
Weather Update