
काठमाडौं— शीर्ष तीन दलका नेताहरूबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।
मंगलबार सिंहदरबारमा बसेको सभामुख सहित शीर्ष तीन राजनीतिक दलका नेताहरूबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए । उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको जानकारी दिए । संसदीय समितिका सभापति चयन गर्ने कुरामा तीन दलका नेताहरू गम्भीर भएको उनको भनाइ छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए । उनले राजनीतिमा देखिएका विकृति, विसंगति, कमीकमजोरीको समाधान गर्दै लैजाने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए ।