News Griha :: न्यूजगृह
सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्नू : कांग्रेस प्रचार विभाग

काठमाडौं— नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन अनुरोध गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकले विरोधका अभिव्यक्ति नदिन अनुरोध गरेको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी,सदस्यहरुलाई अनुरोध गर्ने ।’

त्यसैगरी विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रूपमा संचालन गर्न पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने निर्णय विभागले गरेको छ ।

यस्ता छन् निर्णयहरू 

१. नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवालाई सम्पूर्ण विभागका प्रमुख लगायत सदस्यहरुका तर्फबाट धन्यवाद ज्ञापन गरियो ।

२.  नेपाली कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पुर्‍याउने ।

३.  पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरु नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने ।

४.  विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने ।

५.  विभागका सदस्यहरुको विशिष्ट ज्ञान, क्षमता अनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण संकलन गर्ने ।

६.  विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने र हाल संचालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजहरुलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आव्हान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने ।

७.  विभागको कामलाई प्रभावकारी बनाउन तपशिल बमोजिम निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले आजका मितिदेखि १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई वुझाउने । निर्देशिका मस्यौदा समितिमा संयोजक श्री दिपकप्रसाद कुईकेल र सदस्यहरु श्री गोविन्द परियार, श्री गणेश के.सी., श्री लिला खनाल, श्री अनुषा नेपाल, श्री राजबहादुर गुरुङ्ग र श्री निमग हुमागाई रहने छन् भने कार्ययोजना तर्जुमा समितिमा समितिका संयोजक श्री गोपालकुमार झा र सदस्यहरु श्री तिलक राई, श्री उमिद वागचन, ई. हुकुम वुढा, श्री विष्णु तिम्सीना, ई. राघव गौतम र श्री रम्भा मिश्र रहेका छन् ।

८.  नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको आज पर्न गएको शताव्दीऔं जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरियो ।

९.  आज पर्न गएको गुरुपूर्णिमाको अवसरमा सम्पूर्ण गुरुज्यूहरुप्रति हार्दिक सम्मान व्यक्त गरियो । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:२३
Weather Update