News Griha :: न्यूजगृह
राम्रो काम गरेबापत आफूलाई सरकारमा जान दिइएन : केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीले बताए ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए ।

ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे ।

उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउने लगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटक-पटक दोहोर्‍याए ।

ओलीले देश र जनताको सेवा गरेबापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ति हुने गरेको बताए ।

उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:१३
Weather Update