1688389208.jpg)
काठमाडौं— संघीय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले प्रतिनिधि सभाका सबै सांसदहरूलाई पत्र पठाएको छ ।
विद्यार्थी युनियनले संघीय शिक्षा ऐन आउन ढिला गरेका कारण समग्र शिक्षा प्रणालीमा नै असर परेको बताउँदै छिटो ल्याउन माग गर्दै प्रतिनिधि सभाका सांसदहरूलाई पत्र पठाएको हो ।
सोमबार युनियनका नेताहरू सिंहदरबारस्थित संसदमा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका कार्यालयमा पुगेर सबै सम्बन्धित दलका सांसदहरूका लागि पत्र बुझाएका हुन् ।
युनियनका अध्यक्ष नेत्र चपागाईंले आफूहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २७५ जना सांसदहरूलाई नै पत्र लेखेको बताए । उनले आफूहरुले तत्काल संघीय शिक्षा ऐन ल्याएर शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न माग गरिएको बताए ।
उनले भने,‘संघीय शिक्षा ऐन नहुँदा संघ प्रदेश र स्थानीय तहले शिक्षाको अधिकार कति लिने हो ? कस्तो पाठ्यक्रम निर्माण गर्ने हो ? शिक्षकहरु कसरी नियुक्त गर्ने हो ? विश्वविद्यालयको भिसी, रेक्टर, रजिष्ट्रारहरु कसरी नियुक्ति गर्ने हो भन्नेकुरा अन्योल छ । शिक्षा ऐन ल्याउनुपर्छ । हामीले २७५ जना सांसदहरुलाई व्यक्तिगत रुपमा पत्रमार्फत उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर त्यसको आधारमा नयाँ शिक्षा ऐन जारी गरेर यो देशको शिक्षाको समस्या हल गर्नको निम्ति हामी आग्रह गरिरहेका छौँ । शिक्षा ऐन जारी नभएसम्म नेपाल समाजवादी विद्यार्थी युनियन सबैसँग हातेमालो गरेर शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुनेछ ।’
अध्यक्ष चापागाईंले आफ्नो संगठन संघीय शिक्षा ऐन जारी गराउने मागसहित आन्दोलनरत रहेको बताए गरे । ऐन छिटो ल्याउन माग गर्दै आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने उनले जानकारी दिए ।