काठमाडौं— लामो पर्खाइपछि आएको मेलम्चीको पानी मनसुनमा फेरि काठमाडौंवासीले पिउन नपाउने भएका छन् ।
वर्षायाममा मेलम्ची खानेपानीको मुहानमा आउन सक्ने सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै मेलम्चीको पानी काठमाडौंमा वितरण नहुने भएको हो ।
हाल मेलम्चीबाट दैनिक रुपमा १७ करोड लिटर पानी आइरहेको छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेडले (केयूकेएल) का अनुसार उपत्यकामा दैनिक साढे ४३ करोड लिटर पानीको माग छ । बाढीको जोखिमले गर्दा गत वर्षझैँ यसपालिको वर्षामा पनि मेलम्ची आयोजनाको सुरुङको मूल ढोका (गेट) बन्द गर्नु परेको मेलम्ची खानेपानी विकास समिति निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए ।
आयोजना निर्माण सुरू भएको २२ वर्षपछि बल्ल १५ चैत २०७७ मा पहिलोपटक काठमाडौं उपत्यकामा पानी वितरण गर्न थालिएको थियो । पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो । तर १ असार २०७८ मा बाढीले आयोजनाको संरचना क्षतिग्रस्त भयो । त्यसपछि १५ साउनमा पुनः भीषण बाढी आएको थियो । बाढीमा परि ११ जनाको मृत्यु र २५ जना बेपत्ता भएका थिए ।
सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना बनाएर काठमाडौंमा पुनः १० महिनापछि ११ वैशाख २०७९ बाट मेलम्चीको पानी वितरण सुरु गर्यो । तर ‘प्रि–मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मूल ढोका १७ जेठमा बन्द ग¥यो । त्यसपछि एकैपटक कात्तिकदेखि मेलम्चीको पानी वितरण सुरु गरेको मनसुन नआउँदासम्म जेठको पहिलो सातासम्म जारी रहनेछ । गएको प्रि–मनसुनमा अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको थियो ।
गएको जेठ–असार–साउनमा झैँ क्षति हुन नदिन यसपालि पनि आउने प्रि–मनसुन र मनसुनमा समितिले सुरुङको मूल ढोका बन्द गर्ने नीति लिएको हो । अहिले वितरण भइरहेको पानी रोकिएपछि वर्षायाममा बागमती नदीको पानीलाई नै प्रशोधन गरेर काठमाडौंवासीलाई वितरण गर्ने मेलम्ची खानेपानी आयोजनाको योजना छ । तर बागमती नदीबाट वितरण गरिने पानी अपुग हुने विज्ञहरुले औँल्याउँदै आएका छन् ।
सर्कथलीमा टनेल दीर्घकालीन उपाय
मेलम्चीमा आएको बाढी र भविष्यमा आउन सक्ने विपदको अनुमानसहितको मेलम्ची खानेपानीको बाँधमा भएको क्षतिको विस्तृत अध्ययन प्रतिवेदन भर्खरै सकिएको छ । तर अध्ययनले दिएको सुझाव कार्यान्वयन गर्न सरकार नतात्दा मेलम्चीको पानी फेरि पनि बीचमै मनसुनमा वितरणमा रोक लागेको हो । एशियाली विकास बैँक (एडीबी)को सहयोगमा खानेपानी मन्त्रालयको नेतृत्व र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को सहयोगमा तयार भएको अध्ययन रिपोर्टले दुईवटा विकल्पहरु पहिल्याएको छ ।
जसअनुसार दीर्घकालीन रुपमा पानी ल्याउन मेलम्चीभन्दा ५ सय मिटरमाथि सर्कथलीमा नयाँ चार सय मिटरको टनेल बनाएर पानी ल्याउने व्यवस्था गर्न रिपोर्टमा सुझाव दिइएको छ । अर्को विकल्प भने मेलम्चीको मुहान क्षेत्रमा नै अल्पकालीन संरचना बनाई मनसुनमा पनि पानी ल्याउने व्यवस्था गर्ने उल्लेख छ । भन्छन्, ‘त्यसको लागि संरचना बनाउनुपर्छ । फागुनको पहिलो साता नै संरचना बनाउन सुरु गरेको भए वर्खायाममा मेलम्ची वितरण रोक्नु पर्दैनथ्यो । तर टनेल बनाउन बजेट र समय पनि लाग्छ । दुवै नहुँदा मेलम्चीको पानी बर्षापछि मात्रै धारामा आउनेछ ।’
‘किनकि वर्षामा मेलम्चीको मुहान खुला छोड्यौँ भने बाढी कत्रो र कस्तो आउला भन्न सकिने अवस्था छैन,’ उनले थपे, ‘अब असारमा एडीबीबाट डिजाइन लिएर वर्षा सकेपछि हिउँदसम्ममा संरचना बनाउन सक्यौँ भने सधैँलाई मेलम्चीको पानी काठमाडौं ल्याउन सक्छौँ ।’
यसैगरी, सरकारले आर्थिक वर्ष २०७९/०८० मा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने घोषणा गरेपछि संरचना निर्माणमा पनि समस्या परेको हो । निर्देशक श्रेष्ठले समिति खारेज नभएपछि बजेटको अभावले एडीबीले सुझाएको संरचना बनाउन समेत नसकेको जानकारी दिए ।
बहुप्रकोपले मेलम्चीमा बाढी
गत वर्ष जल तथा मौसम विज्ञान विभागले वैशाखमा नै सरदरभन्दा बढी पानी पर्ने भविष्यवाणी गरेको थियो । मेलम्चीमा बाढी आउनुअघि २८ जेठमा उक्त क्षेत्रमा ठूलो पानी परेको थियो । जुन मेलम्चीको माथिल्लो तटिय क्षेत्र हो । वर्षौदेखि थुप्रिएको र केही दिनअघि परेको वर्षाले गेगरान, बालुवा, ढुङ्गा सबै भ्रेमाथाङमा थुप्रिएको थियो । तर क्लाउड ब्रस्ट (आरिघोप्टे पानी) परेपछि १ असारमा बाढी आउँदा ती सबै गेगरान सोतरेर तल दोलालघाटसम्म लेदो पानी बगेको प्राधिकरणसँगै मेलम्ची भ्रमण गरेर आएका विज्ञहरुले बताएका थिए ।
यस्तै, गत वर्षको साउनको तेस्रो साता सार्वजनिक भएको दुईटा छुट्टाछुट्टै रिपोर्टले मेलम्चीमा विनाशको कारण बहुप्रकोप भएको बताएको थियो । नेपाल इन्जिनियर्स एसोसिएसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) ले गरेको अध्ययनले मेलम्चीमा बाढी आउनुलाई बहुप्रकोपसँग जोडेको थियो ।
इसीमोडको अध्ययन अनुसार मेलम्चीको विनाश शृंखला मेलम्ची र इन्द्रावती खोलाको सिरानमा रहेको हिमालबाटै सुरु भएको उल्लेख छ । रिपोर्टमा मेलम्ची र इन्द्रावतीको सिरानमा रहेको जुगल हिमालको हिउँ १ असार अघि नै धेरै मात्रामा पग्लिएको उल्लेख छ । इसीमोडले यांग्री खोलाको सिरानमा राखेको मापन केन्द्रमा मेलम्ची बाढीको चार दिनअघि तापक्रममा वृद्धि देखिएको रिपोर्टमा उल्लेख छ । त्यसपछि परेको पानीले हिउँ बगाउन सहयोग पुर्याएको बताइएको छ । यसपालि कति पानी पर्छ भनेर अहिले नै बताउन सक्ने अवस्था छैन । तर गत वर्ष जस्तै सरदरभन्दा बढी पानी पर्यो भने मेलम्चीमा बाढी नआउला भन्न नसकिने निर्देशक श्रेष्ठ बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले अहिले नै मनसुनको अनुमान गर्न नसकिने बताए । उनले भने, ‘समय बाँकी छ । एक महिनापछि मात्रै मनसुनको भविष्यवाणी गर्न सकिन्छ । त्यसपछि मात्र सरदरभन्दा बढी या कम पानी पर्ने बताउन सकिन्छ ।’