News Griha :: न्यूजगृह
हिमाली क्षेत्रको विकासका लागि सङ्घीयता आवश्यक छ : सांसद शेर्पा 

काठमाडौं— राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पहुँचका आधारमा सरकारले बजेट विनियोजन गरेकोप्रति गुनासो गरेका छन् । 

सोमबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथि गरिएको खर्च कटौतीको छलफलमा सहभागी सांसद शेर्पाले पहुँचवाला मन्त्री र सांसदले आफ्नो क्षेत्रमा बजेट लैजाने तर, सोझा र पिछडिएका क्षेत्रका नेता र सांसदले नपाउने गरेको गुनासो गरे । 

सरकारले आर्थिक वर्ष ०८०/८१ को लागि विनियोजन गरेको बजेटले विकट क्षेत्रका सांसद र पहुँचवालाबीचको फरक स्पष्ट छुट्याएको बताएका उनले सङ्घीयता आवश्यक रहेको महसुस गरेको चर्चा गरे । 

उनले भने, ‘सङ्घीयता भनेको आवश्यकता हो भन्ने कुरा यो बजेट बाँडफाँटले पनि देखायो । त्यसकारण यो देशमा सङ्घीयता आवश्यक छ । कसलाई आवश्यक छ भने म जुन ठाउँबाट आएको छु, त्यो ठाउँको लागि सङ्घीयता आवश्यक छ । सगरमाथा, सोलुखुम्बु र हिमाली क्षेत्रको लागि सङ्घीयता आवश्यक छ । पावरवाला ठुल्ठुला मन्त्री, सांसद र नेतालाई आवश्यक छैन ।’ 

युवा तथा खेलकुद मन्त्रालयको विनियोजन खर्च कटौती गरेर एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव पेस गरेका उनले युवा जनशक्तिलाई सिपमूलक तालिम सहित नैतिक शिक्षा दिनुपर्ने जोड दिए । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १४:५२
Weather Update