
काठमाडौं— राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरूका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले २३ प्रतिशत जनसङ्ख्या रहेका दलितहरूका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘कर्णाली प्रदेशमा ठूलो दलित समुदायको जनसङ्ख्या छ । २३ प्रतिशत भन्दा बढि जनसंख्या भएको समूदायका लागि राज्यले किटान गरेर बजेट छुट्टयाउँदैन । पहुँचका आधारमा बजेटहरू विनियोजन हुने, दूरदराज र विपन्न बस्तीहरूलाई पूरै बिर्सने अवस्था छ,’ उनले भने ।
सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रर्दशन गरिरहेका दलितहरूलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।