
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा पुनः पश्चात्ताप व्यक्त गरेका छन् ।
कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गिरिजाप्रसाद कोइरालाले छाडेर गएका शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू लागि परेको दाबी गरे ।
त्यसका लागि नै कांग्रेससँग मिलेर सरकार बनाएको धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर, उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटकपटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’
कोइरालाको राजनीतिक सुझबुझ र दुरदृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको उनले बताए । आफूले कोइरालालाई आशंका र अविश्वासका दृष्टिले हेरेको धारणा राख्दै उनले भने, ‘बरु मैले गल्ती गरेँ, उहाँले बिल्कुल गल्ती गर्नुभएन । मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै पूरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’
गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले थपे, ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्यौँ, जनताको अवस्था बदल्न सकेनौँ त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’
‘कम्युनिस्ट एकताले कांग्रेस तरंगित हुनु पर्दैन’
प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरूको एकताको कुराबाट कांग्रेस तरंगित हुन नहुने पनि बताए । कम्युनिस्टहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने धारणा राख्दै प्रचण्डले भने, ‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन । कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’