
जनकपुरधाम— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन् ।
शनिबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले देशमा प्राप्त राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउन विभिन्न प्रयासहरू जारी रहेकाले त्यसविरुद्ध जनमत बनाइराख्न सबै सचेत नेपालीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीबीच २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्यायका विषय टुंग्याउन ढिला भए पनि तत्सम्बन्धी मुद्दालाई शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प नरहेको बताए ।
‘विस्तृत शान्ति सम्झौताको मर्मअनुसार अन्तरिम संविधान, २०६३ र नेपालको संविधानले गरेको व्यवस्थाबाहेक संक्रमणकालीन न्यायसँग जोडिएका विषयहरू अन्य तरिकाले हेर्न मिल्दैन’, उपाध्यक्ष सापकोटाले भने,‘अन्य तरिकाले हेर्न थालियो भने शान्ति प्रक्रियालाई असर पुर्यायाउँछ । पछिल्लो परिवर्तनका लागि बलिदानी दिएका नेपाल आमाका छोराछोरीहरूको योगदानको अपमान हुन्छ । त्यसैले प्रतिकूल असर पार्ने गरी कुनै काम नगर्न म सबैलाई आग्रह गर्दछु ।’













