News Griha :: न्यूजगृह
आँखा उपचारका लागि नेपाल विश्वमै चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे

काठमाडौं— प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् ।

नेत्र ज्योति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्र ज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त समेत गरे । 

संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न समेत नेपाल नेत्र ज्योति संघलाई आग्रह गर्दै सभामुख घिमिरेले संघले नेपालको दूर दराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गरे ।

सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

'नेपाल नेत्र ज्योति संघले अब केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरुसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रुपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु । अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुक भित्रको रुपबाट चर्चित हुने कुरा, यसमा योगदान गर्नुहुने यसमा सहभागी मित्रहरू र खासगरी यसको स्थापना गर्ने देखि लिएर हालसम्मका नेतृत्वहरू यसको प्रेरणाको स्रोत रहनु भएको छ', सभामुख घिमिरेले भने, 'यस क्षेत्रको धेरै ठुलो योगदान गरेका धेरै विशिष्ट व्यक्तिहरू हुनुहुन्छ । विज्ञहरू हुनुहुन्छ र, डाक्टरहरू हुनुहुन्छ । तपाईंहरुको अगाडि आज मलाई प्रमुख अतिथिको बोलाई रहँदाखेरि के कुरा राख्न चाहन्छु भने मेरो ठाउँबाट मैले सक्ने सहयोगहरू गर्न म जहिले पनि तयार छु ।'

नेत्रज्योति संघले गरेको इमानदार प्रयत्नहरू र यसले जनताको सेवा खास गरीकन अन्धोपनलाई हटाएर उज्यालो बनाउनका निम्ति महत्त्वपूर्ण योगदान दिएको भन्दै उनले उक्त योगदानप्रतिको विश्वासको कारणले यसले दिन प्रतिदिन प्रगति गर्दै गइरहेको समेत बताए । उनले यसलाई जसरी बुझेर जानुपर्ने हो त्यो कुराको अझै पनि अभाव रहेको समेत बताए । 

सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य पुरा गर्नका निम्ति कामना समेत गरे । त्यस अवसरमा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १६:०९
Weather Update