
काठमाडौं— पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको श्रेष्ठले बताए ।
उनले भने,‘बीआरआई प्रोजेक्टको मोडालिटीको बारेमा टुङ्गो लगाउने बारे छलफल गरेका छौं । बीआरआईबाट कस्तो खालको लाभ लिनसक्ने गरी तयारी गर्नु भएको छ भनेर सोध्नु भएको थियो । त्यो विषयमा नेपाल सरकारको नीतिको बारेमा स्पष्ट पारेका छौं । सिचुवान एयरलाइन्ससँग पनि राम्रो कुराकानी भएको छ । छेन्दु काठमाडौंको उडानलाई हप्ताको सातै दिन नियमित उडान गर्न अनुरोध गरेका छौं ।’
मन्त्री श्रेष्ठले भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सकारात्मक रहेको बताए । व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवतजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको मन्त्री श्रेष्ठले बताए ।
चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको उनले बताए । नेपाल सरकारले बीआरआईमा २०७० सालमा सम्झौता गरेको थियो । तर कार्यन्वयन हुन सकेको छैन । मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने विषयमा समेत छलफल भएको मन्त्री श्रेष्ठको भनाई छ ।