
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टी अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता भएको हो । पछिल्लो समय जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चा भइरहेको छ । यही चर्चाकाबीच अध्यक्ष राउत प्रचण्डलाई भेट्न पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार उनीहरूबीच सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेर छलफल भएको थियो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता नलिन राउतसँग आग्रह गरे ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउने आश्वासनसमेत दिएका छन् । आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा सहभागी गराउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका हुन् । पछिल्लो समय रुष्ट बनेका राउतलाई फकाउन प्रधानमन्त्री प्रचण्ड लागि परेका छन् । प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो ।
प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने आश्वासन दिएका थिए । अन्तिममा अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । त्यसबेला सरकारबाट बाहिरिए पनि जनमतले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । तर, आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएको जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुपर्ने छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड जनमतलाई सरकारमा ल्याउन चाहन्छन् । यसका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेको जनमतका अध्यक्ष राउतलाई फकाई रहेका छन् ।