
काठमाडौं— सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकहरूबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
आम जनता बैंकहरूबाट ऋण नपाएपछि मिटरव्याजीको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताए ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकहरूबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद साहले भने, ‘देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गर्यो ? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ । ’
उनले गरिब जनताबाट निक्षेप संकलन हुने तर केही मुठीभर मानिसहरूले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको पनि पटकपटक दोहोर्याए ।