काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरू भएको बताए । गिरीले सो प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेका पनि बताए ।
उनले भने, ‘मिटरब्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन् । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यि कामहरू भएका छन् । प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् । र सामन्तवादको अवशेषको रुपमा अहिले पनि छ । त्यसकारण यसका विरुद्धमा राम्रो नीति, ऐन बन्नुपर्छ ।’
मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनको भनाई छ । गिरीले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभइ झुक्याउनका लागि ल्याएको बताए ।