
काठमाडौं— सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई बिनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरूले ठूलो व्यापारीहरूलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए ।
उनले भने, ‘गाउँगाउँमा ऋण दिने व्यवस्था गर्नुपर्छ बैंकबाट । गरिब जनताले चाहेको बेलामा बैंकहरूको ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नुपर्छ । होइन भने बैंक भनेको त ठूलाहरूको मात्रै हो । मेरो गाउँमा नेपाल बैंक लिमिटेडको शाखा छ । तर गाउँका गरिब जनतालाई कहिल्यै पनि ऋण दिँदैन । तर त्यहाँका जनताले बचत गरेको रकम काठमाडौं पठाउँछ । त्यसकारण यो ऋणीका लागि कानुन बनाउन खोजिएको छ ।’
उनले ठूला व्यापारीहरूसँग ठूला नेताहरूको मिलेमतो हुने गरेकाले बैंकहरूले पनि ठूला व्यापारीलाई नै अर्बौँको ऋण दिने गरेको आरोप समेत लगाए । सिंहले बैंकहरूले गरिबले माग्दा र अतिआवश्यक पर्दा पनि बिनाधितो ऋण नदिएको उल्लेख गर्दै त्यो व्यवस्थामा परिवर्तन गर्न पनि सरकारलाई सचेत गराए ।