
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रममा उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपा तिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए ।
उनले भने, ‘अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरेका छौँ । त्यतिबेला हामीले माधवजीले पनि मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ ।’
प्रचण्डले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरिसकेको पनि बताए । प्रचण्डले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरूलाई एकतावद्ध गरेको स्मरण गरे ।
सबै कम्युनिष्टहरूले आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई थियो । उनले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए ।