1687669658.jpg)
गोरखा— ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको बताए ।
अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । ‘पोहोर यतिबेला झन्डै बाइस प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको थियो’,उनले भने,‘अघिल्लो वर्षको तुलनामा जिल्ला यस वर्ष रोपाइँमा ढिलाइ भएको छ ।’
मुख्य गरी दरौँदी करिडोर क्षेत्रका फाँट तथा खेतमा भने आकाशे पानी नपर्दै पनि रोपाइँ गर्नका लागि पानीको अभाव नहुने भएकाले ती क्षेत्रमा रोपाइँ भइसकेको उनको भनाइ छ ।
जिल्लाको दक्षिणी भू–भागमा धेरैजसो बर्खे धानखेती हुने गरेको केन्द्र प्रमुख अधिकारीले बताए ।