
काठमाडौं— नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक नगर समिति इनरुवा सुनसरीले पेसागत विभिन्न माग राख्दै इनरुवा नगर प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।
नगर समितिले यही असार १२ गते नगर प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण गराएको हो ।
अध्यक्ष सोनु राना मगर, उपाध्यक्ष अञ्जु चौधरी र सचिव लीला चौधरीले राज्यबाट बाल शिक्षकको श्रमशोषण हुँदै आएको र वर्षौंदेखि कार्य क्षेत्रमा खटिँदा समयोचित तलब तथा सेवासुविधा पाउन नसकेको बताएका छन् ।
उनीहरूले प्राथमिक विद्यालय सरह तलब सेवासुविधा उपलब्ध गराउन माग गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ देखि लागु हुनेगरी गोल्डेनह्याण्डसेकको व्यवस्था, सञ्चय कोषको व्यवस्था, अन्तर तथा बाह्य जिल्लाका नमुना बालविकास केन्द्रको शैक्षिक अवलोकन भ्रमणको व्यवस्था मिलाउन नगर प्रमुखको ध्यानाकर्षण गराइएको छ ।
त्यसैगरी समय अनुकूल प्रविधि, शैक्षिक तालिम तथा शैक्षिक सामग्रीको व्यवस्था गर्न समितिले माग गरेको छ ।