
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जान पार्टीभित्र छलफल सुरु गरेको छ ।
रास्वपाका नेता सन्तोष परियारले सरकारमा कसरी सहभागी हुने भन्नेबारे पार्टीमा आन्तरिक छलफल चलिरहेको बताए । न्यूजगृहसँगको कुराकानीमा उनले पुरानो सहमतिअनुसार सरकारमा जान चाहेकोसमेत बताए । उनले भने, ‘पुस १० कै सहमति अनुरुप सरकारमा सहभागी हुन चाहन्छौँ । तर वर्तमान परिस्थितिलाई पनि मूल्याङ्कन गरिरहेका छौँ । यही हो भन्ने अवस्था छैन । छलफल जारी छ ।’
जनमतको कदर गर्दै रास्वपा विकास निर्माणको काममा सहभागी हुन चाहेको उनको भनाइ छ । रास्वपासहित नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन ।
विश्वासको मत लिएको केहिदिनमा सरकारले पूर्णता पाउने प्रधानमन्त्री प्रचण्डले बताएका थिए । उनले ६ चैतमा प्रतिनिधि सभामा विश्वासको मत लिएका हुन् । उनले १० चैतसम्म सरकारले पूर्णता पाउने दाबी गरेका थिए । तर सोमबार (१३चैत) सम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सत्ता गठबन्धनभित्र मन्त्रालय भागबन्डामा सकस परेको छ ।
१० पुसको सहमति अनुसार नेकपा एमालेसहितको तत्कालीन सात दलीय गठबन्धनमा रास्वपाले गृह मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी पाएको थियो । तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेज भएपछि रास्वपा सरकारबाट बाहिरिएको हो । राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई सहयोग गरेपछि एमाले पनि सरकारबाट बाहिरियो । १० पुस अघिको गठबन्धन ब्युँतिएपछि राप्रपासमेत सरकारबाट बाहिरिएको हो ।
१० दलीय गठबन्धनमा रास्वपालाई फेरि गृह मन्त्रालयसहित सरकारमा सहभागि गराउने/नगराउने बारे छलफल भएको छैन । ‘गृह मन्त्रालय पहिला हामीले पाएका हौँ । अब सो मन्त्रालय पाउँछौँ या पाउदैनौँ विकसित घटनाक्रम हेर्दा अहिले नै भन्ने अवस्था छैन,’ रास्वपा नेता परियारले भने । गृह मन्त्रालयमा सत्ता नेतृत्वकर्ता दल माओवादी र नेपाली कांग्रेसको दाबी छ । गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने भन्दै माओवादी नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । यस्तै, गृहसहित अर्थ मन्त्रालय पनि आफ्नो पार्टीले पाउनुपर्ने अडान कांग्रेसको छ ।













