News Griha :: न्यूजगृह
अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’मा छाडियो
तस्बिर : रासस

मकवानपुर— जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका ३ स्थित  लामिटार सामुदायिक वनमा शनिबार ३३ केजीको अजिङ्गर फेला परेको छ । 

अजिङ्गरले हाँडीखोलाको लामिटार जङ्गलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । 'अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौँ,' स्थानीय श्यामबहादुर राईले भने ।

लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिङ्गर नियन्त्रणमा लिएका थिए । 

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिङ्गर देखापरेको हो । केही दिनअघि लामिटारकाजने राईको खेतमा भेटिएको अजिङ्गरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोस्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको बताए ।  'अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ,' पौडेलले भने । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २१:३१
Weather Update