News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार

पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शनिबार हामी दिनभरका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ—

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति, कार्यक्रम र बजेटको विद्यमान विधिप्रक्रियाले समाधान नदिने बताएका छन् । पोखरामा शनिबार राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकमा प्रधानमन्त्री प्रचण्डले यसलाई सबैको अपनत्व हुनेगरी बदल्नु जरुरी रहेको बताएका हुन् । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताए । सङ्घीयतालाई बलियो बनाउन सबैको उत्तिकै सार्थक प्रयास हुनु आवश्यक रहेको उनको भनाई थियो । 
000

दलित भएको भन्दै भाडामा बस्नेलाई निकालेपछि दाङ प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका– १७ का ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरिएको हो । पोखरेलले डेरामा बसिरहेका अछामका महेन्द्र बिक र हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ ।

000

कास्की पुगेर अर्थमन्त्री डा प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको प्रष्टिकरण दिएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग शनिबारको भेटघाट कार्यक्रममा मन्त्री महतले १० लाख भन्दा बढीको सुन खरिदमा मात्रै कर लगाइएको बताए । त्यस्तै, पोखरामै शनिबार आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले करको दायराभित्र पर्छन् उनीहरूलाई छुट दिन नसकिने बताए । उनले धेरैजसो करदाताहरूलाई भ्याट नलाग्दा हुन्थ्यो भन्ने गरेको भन्दै छुट दिन नसक्ने बताएका हुन् । 
 

000

सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सञ्चार क्षेत्रको महत्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताए । उनले सञ्चार क्षेत्रमा भएका विकृतिलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने पनि बताए । उनले सञ्चारमाध्यमको महत्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । 

000

उपसभामुख इन्दिरा रानाले संसद्मा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाएकी छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूले केही समयअघि सिंगापुर संसद्को भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । उनले नेपालको संसद्मा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि जनाइन् । उनले संसद्मा उपसभामुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोपसमेत लगाइन् । उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो ।


000

पूर्वसभामुख अग्नि सापकोटाले नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रको कमी भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिले पार्टीभित्र विचौलिया, माफिया मात्रै नभइ एक अर्कालाई आरोप लगाउने, मूल्य, मान्यता र आदर्शहरूमाथि नै प्रहार भइरहेको बताए । उनले लोकतन्त्र प्रवचनको विषय नभइ जीवन व्यवहार र नयाँ सभ्यता, संस्कृति र सिद्धान्त भएको बताए । लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिवद्ध हुन नसकेको उनको भनाई थियो । 

000

पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्ले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संसद्ले बनाएको कानूनबाट प्रशासन नचलेको बताए । उनले संसद्ले यसबारेमा ध्यान दिन नसकेको पनि बताए । राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको बताए । संसद्ले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिरहेको उनको भनाई थियो । 


000

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन् । 
शनिबार काठमाडौंमा उनले संसदीय मामिला हेर्ने पत्रकारहरूले एउटै विधेयकहरू संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्ष सम्म नआउने लगायतका विषयहरूमा कलम चलाउन नसकेको गुनासो गरे । 

000

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरू आज एकसाथ सङ्कटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताएका हुन् ।  शनिबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरे । 

000

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्  । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरूलाई आग्रह गरे । 

000

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् । संसद् जन अपेक्षा अनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनु बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  सभामुख घिमिरेले संसद् जनप्रतिनिधिहरूको सर्वोपरि संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्वसांसद क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राखे । 

000

प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोशिश गरिरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताएका हुन् । कार्यवाहक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभुत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे ।  उनले वर्तमान सरकार श्रमिकको पक्षमा नभई पुँजीपति वर्गको पक्षमा रहेकाले उसले गरिब जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए ।  

000

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको गुणस्तर विकास गर्नुपर्ने बताएकी छन् । शनिबार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा उनले अहिलेको संरचनाले चलचित्र क्षेत्रको समग्र विकास गर्न नसक्ने बताएकी हुन् । उनले संरचना वृद्धि गर्दै गुणस्तरीय चलचित्र निर्माण गर्न जरुरी रहेको बताइन् । 

000

त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो संस्करणको प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । महर्जन जोडीले फाइनल प्रवेशका लागि कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडीसँग प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै एपीएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडीले पनि सेमिफाइनल यात्रा तय गरेको छ । 

000

कोटेश्वरकी रीमा खत्री र चन्द्रागिरीकी खुश्बु लिम्बूले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । शनिबारदेखि शुरु भएको प्रतियोगितामा रिमाले महिला ५२ केजीमा र खुश्बुले महिला ४६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।

000

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हरेक विदेशी चलचित्रको सेन्सर गर्नुपर्ने बताएका छन् ।  शनिबार चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव कार्यक्रममा उनले नेपाली फिल्मको व्यापार व्यापार मात्र नभइ राष्ट्रको पहिचान भएको बताएका हुन् । उनले नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व विदेशी फिल्मको सेन्सर गर्ने कुराको पूर्ण कार्यान्वयन गर्नसके कुनै विवाद सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील हुनसक्ने बताए । 

000

फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारी तैनाथ गरिएको बताएका छन् । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ । 

000

चिनियाँ मुद्रा रेन्मिन्बी  (युआन)को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो बारे जानकारी दिएको छ। चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानता दरबाट दुई प्रतिशतले बढ्न वा घट्न अनुमति दिइएको छ। अमेरिकी डलरको तुलनामा युआनको केन्द्रीय समानता दर प्रत्येक व्यापारिक दिन अन्तरबैंक बजार खोल्नु अघि बजार निर्माताहरूले प्रस्ताव गरेको मूल्यहरूको औसतमा आधारित हुन्छ।

000

भारतको महाराष्ट्रमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ३३ यात्रु सवार उक्त बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुने तर्फ आइरहेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार गुडिरहे कै बेला टायर पड्किएपछि बस नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । त्यसपछि बसमा आगो लागेको थियो ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २१:०१
Weather Update