
पोखरा— अर्थमन्त्री डा प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको प्रष्टिकरण दिएका छन् ।
पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग शनिबारको भेटघाट कार्यक्रममा मन्त्री महतले १० लाख भन्दा बढीको सुन खरिदमा मात्रै कर लगाइएको बताए ।
व्यवसायीको जिज्ञासा महतले भने, ‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरा मोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।’
ट्राभल्समा नभई एअरलाइन्सलाई कर लगाइएको भन्दै उनले भने ‘नेपाल ओरिजिन भएको एअरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ । व्यवसायीहरूले ट्याक्स तिर्नुपर्ने होइन’
काठमाडौंपछि आर्थिक क्रियाकलाप पोखरामा बढी हुने भन्दै महतले मध्यम खालका उद्योगको प्रर्वद्धनमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले भने ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गर्छ । यस्ता उद्योगलाई संरक्षण गर्न हामीले बजेटको व्यवस्था गरेका छौं ।’
पर्यटन व्यवसायले लय पक्रन थालेको महतको भनाई छ ।