
काठमाडौं— पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् ।
६५औँ संसद् दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘कानुन किन बनाउनुपर्ने सार्वभौम जनप्रतिनिधिले भने त्योभन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयकभन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर, अहिले म सुन्दैछु, संसद्ले एउटा कानुन बनाउँछ, तर, अरूअरूकै आदेशबाट प्रशासन चलिरहेको छ ।’ उनले संसद्ले यसबारेमा ध्यान दिन नसकेको बताए ।
राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको उनको भनाइ छ । उनले संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु भनेको संसद्को अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए । ‘हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुन–जुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो,’ उनले भने ।
पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए । उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताए ।