News Griha :: न्यूजगृह
सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको छ : एमाले नेता ज्ञवाली​​​​​​​

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा उनले एमालेले श्रमजिवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताए । 

कार्यवाहक महासचिव ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे । 

उनले वर्तमान सरकार श्रमिकको पक्षमा नभइ पूँजीपति वर्गको पक्षमा रहेकाले उसले गरिब जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए । 

आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याए पनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:४२
Weather Update