
काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् ।
संसद् जन अपेक्षाअनुसार चल्न नसकेको आम अनभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले संसद् जनप्रतिनिधिहरूको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद् क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राखे । राष्ट्र र जनताको आवश्यकताअनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाइ छ ।
सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अङ्गहरूलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तीमा पनि ३३ प्रतिशत महिलाहरू निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने आवश्यकता औँल्याइन् ।
उनले समानुपातिकमा एक पटक ल्याएका महिलाहरूको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरी सांसद बनाउने काम गर्न पनि राजनीतिक दलहरूलाई आग्रह गरिन् ।
जनसङ्ख्याको आधारमा पनि महिलाहरूलगायत अन्य समुदायको संसद्मा समानुपातिक रूपमा प्रतिनिधित्व हुने कुरालाई सुनिश्चित गर्नुपर्ने उपाध्यक्ष अर्यालको भनाइ छ ।
उपाध्यक्ष अर्यालले तराई, मधेसमा डोमलगायत जातिहरूमाथि भएको उत्पीडन कम हुने गरी कानुन निर्माण गर्नु पर्नेमा जोड दिइन् ।