
काठमाडौं— लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । शनिबार तीन दलबीच विभिन्न एजेन्डाहरूमा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जानकारी दिएका छन् ।
तीन पार्टीले जारी गरेको सहमति पत्रमा भनिएको छ, ‘तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ ।’ उक्त पत्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष डा.राउत, र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।
उनीहरूबीच मधेस र थारूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता, राजवन्दीहरूको रिहाइ, विगतका सहमति कार्यान्वय लगायतका एजेन्डासहित सहकार्य गर्ने सहमति भएकाे छ ।
उनीहरूबीच उपराष्ट्रपति निर्वाचनमा पनि सहकार्य गर्ने निर्णय भएको छ । उपराष्ट्रपतिमा जनमत पार्टीले सत्तागठबन्धनकै तर्फबाट ममता झालाई उम्मेदवार उठाएको छ । यस्तै जनता समाजवादी पार्टीले पुरूष उम्मेदवार रामसहायप्रसाद यादवलाई उठाएकोमा पनि जनमतले आपत्ति जनाएको छ ।
योसँगै उनले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता नगर्ने पनि डा.अध्यक्ष राउतले बताइसकेका छन् । जसपाले रामसहायको उम्मेदवारीमा समस्या आउन सक्ने भन्दै महिला उम्मेदवार प्रमिला यादवको पनि उम्मेदवारी दर्ता गराएको छ ।














