News Griha :: न्यूजगृह
कांग्रेसले सत्ताको लोभ गरेकै कारण १० सिट जितेका माधव नेपाललाई प्रधानमन्त्री मान्ने अवस्था आयो : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताबाट बाहिरिने डरले कांग्रेस १० सिट जितेका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको तर्क गरेका छन् । 

शनिबार नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनमा उनले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर केही पनि गर्दैनौँ भन्ने कुराको भरोसा दिलाउनुपर्ने बताए । 

उनले भने, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । जम्मा अहिले १० सिट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर, थापेर टाउकोमा राखेर, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्ने किन यो कुरा मानेका छौँ । किनकी डराएका छौँ । अरूसँग मिल्ला, सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।’

उनले सभापति देउवा पाँच पटकसम्म प्रधानमन्त्री बन्नुको आवश्यकता र औचित्य खोजिनुपर्ने पनि बताए ।

‘एउटै मान्छे पाँच पटक सम्म लगातार प्रधानमन्त्री बन्ने किन ? यसको उत्तर के हो ? यो कुनै आग्रहको कुरा होइन, यसको खुला छलफल हुनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:०४
Weather Update