
काठमाडौं— सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
जनताले अपेक्षा गरेअनुसार, जनताले चाहेअनुसार विकास निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि पोखेका हुन् ।
६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न पनि सांसदहरूलाई आग्रह गरे ।
अध्यक्ष नेपालले जनसेवाको कामलाई सहज बनाउने गरी अघि बढ्न सरकार र सांसदहरूको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यकता औँल्याए ।
उनले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढनुपर्नेमा जोड दिए ।