News Griha :: न्यूजगृह
संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ  : सभामुख 

 

काठमाडौं— सभामुख देवराज घिमिरेले सांसद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्‍याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् । 

संसदीय मामिला पत्रकार समाजको ८ औँ अधिवेशनको उद्घाटन गर्दै शनिबार उनले जनप्रतिनिधिका विषय जस्ताकोतस्तै जनतामा पुर्‍याउने काम महत्वपूर्ण हुने बताए । 'समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ । संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो,' सभामुख घिमिरेले भने, 'संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ।' 

ganesh prasad timilsina1688187412.jpg

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिए । 

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताइन् । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको बताइन् । 

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले पत्रकारलाई सूचनाका लागि संसद् सचिवालय सदा खुला रहेको बताए ।समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले संसद्मा भाइरल हुनका लागि युट्युबर बोकेर आउने तर संसदीय अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:३८
Weather Update