
काठमाडौं— भक्तपुरको जगातीमा शुक्रबार गरिएको ट्राफिक चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले टिपर चालक काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय जीवन तामाङ, जिप चालक ललितपुरको इमाडोलका २३ वर्षीय बिकेश विष्ट, कार चालक काठमाडौंको जोरपाटीका २६ वर्षीय सनम थापा र पिकअप भ्यान चालक काठमाडौंका ३५ वर्षीय माधव गुरुङलाई नियन्त्रणमा लिएको हो ।
चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना चालकले लागूपदार्थ सेवन गरी सवारी चलाएको फेला परेको हो ।
लागूपदार्थ सेवनले शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।