
काठमाडौंं— आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ।
हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ। नेपालले २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।
यस दिवसको अवसरमा पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्।
यसैबीच, सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् ।
संसद् दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका छन् ।
उनले भने, “नेपालको संविधानले अंगीकार गरेको जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै नेपाली जनताले आवधिक निर्वाचनबाट जननिर्वाचित सर्वोच्च संस्था संसद्मा प्रतिनिधि चयन गर्दै आएका छन् ।' रासस