
छेन्दु/चीन— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एअरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन् ।
सिचुवान एअरलाइन्सका अध्यक्ष श्र चुइसँग शुक्रबार भएको भेटमा उनले छेन्दुबाट काठमाडौंमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरे ।
सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उनले भने,‘यसअघि छेन्दु–ल्हासा–काठमाडौं उडान थियो, अहिले छेन्दुबाट काठमाडां सिधा उडान भएको छ । छेन्दु–काठमाडौंको उडान सङ्ख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीको सम्बन्ध थप प्रगाढ हुन्छ ।’
नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाइ सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए ।
एअरलाइन्सका अध्यक्ष चुइले एअरलाइन्सको बजार विस्तार गर्न आफूहरु तयार रहेको बताए ।