
काठमाडौं— सङ्घीय सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिचानको नामाकरणको विषयलाई लिएर कोशी प्रदेशमा भइरहेको गतिविधि अराजक रहेको बताइन् ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई बिहीवार गृह जिल्ला प्रवेश गर्ने क्रममा आक्रमणको प्रयास भएको थियो । सोही विषयमा मन्त्री शर्माले सरकारले अराजक गतिविधि गर्र्नहरूलाई कारबाहीको दायरामा ल्याउने बताइन् । कोशी प्रदेशको नामका बारेमा भइरहेको आन्दोलनलाई प्रदेश सांसद र मुख्यमन्त्रीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ ।
उनले केन्द्र सरकारले पनि यसमा सहयोग गर्ने बताउँदै नयाँ बन्ने प्रदेश सरकारले यसको निकास दिने बताइन् ।
मन्त्री शर्माले ठूला वा सानाभन्दा पनि सरकारले अनियमितता गर्ने व्यक्तिलाई नछोड्ने बताइन् । भ्रष्टाचारका घटनामा प्रमाण पुगेपछि घटनामा संलग्न दोषी नउम्किने उनको भनाइ छ ।