
छेन्दु (चीन)— उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
उनले बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल–चीन सम्बन्धका विषयमा सिचुवान विश्वविद्यालयले आज आयोजना गरेको कार्यक्रममा उनले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा रचनात्मकता, नीतिगत विश्वसनीयता, प्रतिबद्धतासहितको दृष्टिकोणले मात्र परिणाममुखी सम्बन्ध स्थापित गर्न सकिने उल्लेख गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘दुई देशको सम्बन्ध ऐतिहासिक र सभ्यतासँगै साथै हाम्रा नेतृत्वको दूरदर्शी दृष्टिकोणले समृद्ध रहँदै आएको छ, यसलाई थप सबल तुल्याउनका लागि गर्नसक्ने धेरै क्षेत्र छन्, तीमध्ये बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल बिस्तार, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष जोड दिनुपर्छ ।’
विकास साझेदार मुलुकको सहयोगबिना नेपालमा रहेका विकासका अवरोध हटाउन अप्ठ्यारो हुने बताउँदै उनले त्यसका लागि सहयोग गर्न आग्रह गरे । जलविद्युत्को प्रचुर सम्भावना रहेको नेपालको विद्युत् निर्यात गर्नसक्ने सम्भावना रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले चीनलाई जलविद्युत् निर्यात गर्न सक्छौँ । यसका लागि चीनले जलविद्युत् उत्पादनमा सहयोग गर्न सक्छ र सीमापार प्रसारण लाइनजस्ता आवश्यक पूर्वाधार निर्माण गरेर आयात गर्न सक्छ ।’ रासस