News Griha :: न्यूजगृह
फ्रान्समा ६६७ प्रदर्शनकारी पक्राउ 

काठमाडौं— फ्रान्समा जारी प्रदर्शनको तेस्रो रातमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६६७ जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले १७ वर्षीय किशोरको गोली हानी हत्या गरेपछि त्यसको विरोधमा भएको प्रदर्शन अझै रोकिएको छैन । फ्रान्सको राजधानी पेरिसमा प्रहरीको बलियो उपस्थिति हुँदा पनि प्रदर्शनकारीहरूले पसलहरूमा तोडफोड र सवारी साधनमा आगजनी गरेका छन् । 

फ्रान्समा ४० हजार प्रहरीअधिकारी प्रदर्शन नियन्त्रण गर्न खटिएका छन् । प्रहरीद्वारा मारिने किशोरको नाम नाहेल एम हो । सवारी जाँचमा रोक्न नमानेपछि प्रहरीले ती किशोरको गोली हानी हत्या गरेको थियो । किशोरलाई गोली हान्ने प्रहरीले किशोरको परिवारसँग माफी मागेका छन् । ती प्रहरीलाई स्वेच्छिक हत्याको आरोप लागेको छ । 

किशोरकी आमाले फ्रान्सको प्रहरी बललाई दोष दिएकी छैनन् । तर, गोली चलाउने प्रहरी अधिकारीले भने एउटा अरबी बालक देखेर उनको ज्यान लिन चाहेको किशोरकी आमाले बताएको  बीबीसीले उल्लेख गरेको छ । फ्रान्सेली मिडियाको अनुसार सन् २०१७ को ट्राफिक स्टप पोस्टमा मारिने सङ्ख्या हेर्दा धेरै जसो काला र अरब रहेको पाइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:१२
Weather Update