काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।
संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान नेताहरू हिँड्नुपर्नेमा उनको जोड छ । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रममा नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेकोसमेत बताए ।
उनले २०४६ सालसम्म मूल्य मान्यता आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गरे । ०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेकासमेत उनले औंल्याए ।
शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्नेकुरामा नेतृत्वले सोच्न जरुरी रहेकोसमेत नेता सिंहले बताए ।
उनले भने, ‘ २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ ।’
नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्बहाली गराउन गर्नुभएको देन समाजले सम्झिरहने बताए ।













