News Griha :: न्यूजगृह
पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध
प्रतिनिधिमूलक तस्बिर ।

पर्वत— निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिबाट आएको पहिरोले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।

निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन ।

वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन् ।

म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।

यात्रुलाई बाग्लुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए । निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १०:३६
Weather Update