News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै तिवारीले भने- आशा छ,आजभोलि नै हाम्रा मुद्दालाई सम्बोधन गर्नु हुनेछ

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुलापत्र लेख्दै आफूहरूका माग तत्काल पूरा नभए अवस्था सोचेभन्दा भिन्न हुने चेतावनी दिएका छन् ।

विद्यालय कर्मचारीका माग पूरा गर्न सहमति गर्ने, प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगरेर झुक्याउने खेलमा सरकार लागेको भन्दै अध्यक्ष तिवारीले अब मार र मरको अन्तिम लडाइँको तयारीमा रहेको जानकारी गराएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष तिवारीले प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै भनेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यू, सामुदायिक विद्यालयका कर्मचारीहरु विगत १ महिनादेखि माइतीघर घामपानी नभनी आफ्नो कामको सेवासुविधा दिनु भन्दै बसेका छौं । हजुर कर्मचारीका मागमुद्दाका विषयमा जानकार हुनुहुन्छ । हामीले भेट गर्दा ‘बुझेको छु समस्या छ यो समस्या समाधान गर्नेछु’ भनेर प्रतिबद्धतासमेत दिनुभएको हो । तर खै त सम्बोधन गर्नुभएको ? सडक र सदनमा यत्तिको आवाज बुलन्द रूपमा उठान हुँदासमेत सम्बोधन गर्न किन आनाकानी भएको छ ? अब हामी विद्यालय कर्मचारीहरू मार वा मरको अन्तिम लडाइँको तयारीमा छौं । तर त्यस्तो वातावरण आउन दिनुहुन्न भन्ने अपेक्षा राखेको छु। ल अर्थ मन्त्रीले बुझ्नु भएन, हजुरले त बुझ्नु भएको विषय हो नि । हामी सबै राजनीति दलका उच्च नेतृत्वलाई भेटघाट गरेर भ्याइयो । अब हामी अन्तिम तयारी गर्दै छौं । आशा छ,आजभोलि नै हाम्रा मुद्दालाई सम्बोधन गर्नु हुनेछ । गंगाराम तिवारी अध्यक्ष नेपाल विद्यालय कर्मचारी परिषद् तथा संयुक्त आन्दोलन समिति २०८० ।’

अध्यक्ष तिवारीले पटक–पटक प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराएका तस्बिरहरूसमेत पोस्ट गरेका छन् । कर्मचारीहरूले तलब, सेवासुविधा र पेसागत स्थायित्वको माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:३६
Weather Update