
मकवानपुर— काठमाडौं–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बाग्मतीको पुल नजिकै शुक्रबार बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ ।
मकवानपुर जिल्लाको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बाग्मती पुल नजिकै गएको पहिरो वर्षा भइरहेको कारणले मौसम सुधार भएमा मात्रै हटाउन सकिने ललितपुर प्रहरीले जानकारी दिएको ।
यता हेटौँडाबाट काठमाडौं जान हिँडेकँ सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकिराखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।
यसैगरी चितवन जिल्लाको मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंबाट चितवनतर्फ आएका सबै सवारीसाधनलाई धादिङ नौबीसेको त्रिभुवन राजपथबाट सवारीसाधन गए रातिदेखि सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
यसैगरी पश्चिमबाट आएका विभिन्न सवारीसाधन पनि हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी र चित्लाङ थानकोट सडकमा पनि अहिले दैनिक सवारीसाधन सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।